top of page
Statue of Nagraj from Simroungarh

सिमरौनगढ़ नगरपालिका (सिमरौन, गढ़, सिमरा वनगढ़, सिम्मनगाडा, पाटा, इत्यादिको नामले समेत चिनियेको) २४६१५ जनसंख्या रहेको प्रदेश न २ अन्तर्गत बारा जिल्लाको दक्षिण-पूर्वी भागमा पर्दछ। यो नगर बीरगंजबाट २८ किमी पूर्वमा र काठमाण्डौबाट दक्षिणतिर ९० किमीको सीधा दूरीमा अवस्थित छ।  

सिमरौनगढ़ अत्यन्तै बढ़ी पुरातात्विक महत्वको भएको पुरातात्विक स्थल रहेको छ जहाँ ११औं देखी १४औं शताब्दीका "सिम्रौन राज्य" अथवा "कर्नाटवंशी राज्य" का विभिन्न पुरातात्विक कलाकृतिहरू तथा पुरावशेषहरू भेट्टिने गरेका छन्।

"सिम्रौन राज्य" विध्वंश पछि, त्यहाँका राजा पहाडतिर जानुभयो र काठमाडौं उपत्यकाको मल्ल  राजवंशमा समाहित भए, जसको शासनको क्रममा उपत्यकाले कला, शिल्प, साहित्य र वास्तुकलाको क्षेत्रमा उच्चतम विकास हासिल गर्यो।

 

किलाबन्दी रहेको सिमरौनगढ़को परिधिलाई बाही भनिने गरिन्छ। यसको आकार आयताकार रहेको छ र उत्तर-दक्षिणमा ५.५ किमी र पूर्व-पश्चिममा ४ किमी रहेको छ। तिरहुतक्षेत्र भरि कर्णाटकालका मूर्ति, पोखरा, इनार, दुर्ग, खण्डहर तथा अन्य पुरातात्विक अवशेषहरू व्याप्त छ्न् र सिमरौनगढ़ कर्नाटवंशको राजधानी रहेको हुनाले यहाँ यी वस्तुहरू धेरै बढ़ी र उच्चकोटिका भेटिने गर्दछ्न्।

कर्णाटवंशी महाराजाहरूको उद्भव

तीरभुक्तिका कर्णाटवंशी महाराजाहरूको उद्भव बारे विद्वानहरूमा एकमत छैन। कर्णाटवंशीहरूलाई चालुक्यहरूको उत्तरी भारतवर्षमा सोमेशवर (प्रथम) र विक्रमादित्य (छैठौं) को पालामा एघारौं शाताब्दीको पश्चार्द्धतिर गरिएको आक्रमण संग जोडेर हेर्ने गरिन्छ।

नान्यदेवले कर्णाटवंशको स्थापना सन् १०९७ मा सिमरौनगढ़मा गरे। वहाँ बंगालका रामपाल, मदनपाल, विजयसेन, वल्लालसेन; कन्नौजका गोविन्दाचार्य गहड़वाल र कलिंगका राघवका समकालिन हुन्। वहाँले युद्ध तथा शान्ति विकास दुबैमा आफ्नो कौशल स्थापित गराएका थिये।

तीरभुक्तिका कर्णाटहरू र बंगालका सेनहरू संघर्षरत थिये भन्ने कुरा देवपारा अभिलेखबाट प्रमाणित हुन्छ। नान्यदेवले आफ्नो शाषणलाई स्थायित्व दिन सफल भएका थिये र उनले नेपाल सम्म आफ्नो राज्य स्थापित गरेका थिये। नान्यदेवले यस क्षेत्रमा आधिपत्य कायम गर्न सम्भवत: चालुक्य राजा विक्रमादित्य (छैठौं) को सहयोग लिएका थिये जसले सन् १०६८ को केही समय पश्चातनै नेपालमाथि आक्रमण गरेको थियो ।

फ्रान्सेली इतिहासकार सिल्वियन लेवीका अनुसार नान्यदेव पहिला पहिला चालुक्य राजाका सेनापतिका रूपमा कार्यरत थिये पछि चालुक्य राजा कमजोर हुंदै गएपछि आफ्नो क्षेत्रलाई सार्वभौम बनाए।

 

तिब्बति भिक्षु धर्मस्वामीको सिमरौनगढ़ भ्रमण 

तिब्बती भिक्षु धर्मस्वामीले सन् १२३६ मा तीरहूत यात्राको क्रममा सिमरौनगढ़ भ्रमण गरेका थिये। तीरभुक्ति वा तीरहूतमाथि त्यति बेला रामसिंह देवको शाषण थियो र वहाँले धर्मस्वामीलाई आफ्नो दरबारमा स्वागत गरेका थिये। धर्मस्वामी तीरहूतको यात्राको दौरान बिरामी परेका थिये तसर्थ सिमरौनगढ़मा उनको बसाई निकै लामो रह्यो। सन्चो भइसकेपछि  वहाँलाई महाराजा रामसिंहले आफ्नो राजपुरोहित बन्न आग्रह गरे तर धर्मस्वामीले शिष्टतापूर्वक अस्वीकार गर्दै आफु तिब्बत फर्किन चाहेको कुरा राखे। महाराजा रामसिंहले वहाँलाई सुन र यात्राको लागि आवश्यक अरू सामग्री दिएर बिदा गरे।

धर्मस्वामीले आफ्नो जीवनीमा लेखे अनुसार त्यो बेला तीरहूतमा तुर्क आक्रमणकारीहरूको त्रास छाएको थियो र यस खतरालाई मध्यनजर गर्दै सिमरौनगढ़को भूलभुलैयाकार किलाबन्दीलाई महाराजा द्वारा अझ मजबूत गरिंदै थिइयो।

 

सिमरौनगढ़का विद्वानहरू

सिमरौनगढ़ विदेह/तिरहूत क्षेत्रमा विद्वत कामको केन्द्र रहेको थियो। महाराजाहरूले विद्वानहरूको समूहलाई आफ्ना सल्लाहकारको रूपमा राख्दथे र प्रधानमंत्री समेत प्रसिद्ध विद्वानहरू मध्येलाई नै बनाइन्थ्यो।  कर्नाटकालका केहि महान विद्वानहरू यसप्रकार थिए – चण्डेश्वर ठाकुर, ज्योतिरिश्वर ठाकुर, वाचस्पति मिश्र, देवादित्य, कर्मादित्य, रामदत्त, इत्यादि। यहाँ सम्म कि कवि कोकिल विद्यापति समेत सिमरौनगढ़का प्रतिष्ठित विद्वानहरूकै परिवारका सदस्य थिये।  कर्नाटकालका समयमा रचना गरिएका केहि महत्वपूर्ण कृतिहरू मध्ये चण्डेश्वर ठाकुरका विभिन्न अष्ट रत्नाकर पर्दछन् - राजनीति रत्नाकर, कृत्य रत्नाकर, गृहस्थ रत्नाकर, शुद्धि रत्नाकर, दान रत्नाकर, पूजा रत्नाकर, व्यवहार रत्नाकर र विवाद रत्नाकर। यस बाहेक ज्योतिरिश्वर ठाकुर द्वारा मधेशको क्षेत्रिय भाषामा रचित प्रौढ़ ग्रन्थ वर्ण रत्नाकर समेत सिमरौनगढ़मै लेखियेको थियो। यी कृतिहरूले राजा-महाराजा तथा साधारण जनताका दैनिक काम कर्तव्यका विभिन्न आयामहरू बारे चर्चा गर्दछन्।

 

 

काठमाण्डौ उपत्यकाका मल्लहरू र दक्षिण भारत संग सिमरौनगढ़का कर्णाटवंशीहरूको सम्बन्ध

नेवा: इतिहासकार शिवराज श्रेष्ठका अनुसार, १७औं शताब्दीका काठमाण्डौ उपत्यकाका मल्ल राजाहरू विशेष गरि प्रताप मल्ल र जगज्योति मल्लले आफ्ना लेखहरूमा नान्य देवलाई “प्रधान पूर्व पुरुष” भनि उच्च सम्मानका साथ सम्बोधन गरेका छन्। वहाँका अनुसार, "कर्णाट राजाहरूले अत्यन्तै प्रबुद्ध र सार्वजनिक कल्याण अभिमुखित धर्म विकसित गरेका थिए र यसले सकारात्मक र गतिशील सामाजिक राजनीतिक संस्कृतिलाई संस्थागत बनायो। यस संस्कृतिलाई पछि नेवार मल्ल राजाहरुले थप पोषित गरेका थिए, जुन मध्ययुगीन क्रूर राजनैतिक संस्कृतिको तुलनामा अधिक सहिष्णु, तर्कसंगत, उदारवादी, समान र सामाजिक न्यायमा आधारित थियो।"

नेपालका मल्लहरूले स्वयंलाई "रघुवंशी" घोषित गरेका थिये, रघुवंशीहरूको कूलदेवी तुलजा (तलेजु) भवानीलाई आफ्नै "कूल देवी" को रूपमा पूजा गरे र कर्णाट रघुवंशी नान्यदेवको "मान्डव गोत्र" लाई अपनाएका थिए।

अर्का इतिहासकार लिला भक्ति मुन:कर्मीले स्पष्ट पारेका छन् कि नान्यदेव द्वारा पूजा गरिने गरियेकी "देवीमजु" वस्तुत: तुलजा(तलेजु) नै थिइन र उनी लिच्छवीहरूकी कुलदेवी “मानेश्वरी” भन्दा पृथक थिइन।

“तलेजु भवानी” मूलत: दक्षिण भारतीय राजवंशहरुकी कुल देवी हुन्, विशेषत: कर्नाटक शासकहरूकी। यस देवीलाई "तुलाजा भवानी" समेत भनिन्छ र यसका विभिन्न अन्य नामहरु जस्तै - तुलजा, तुरजा, त्वरिता र अम्बा पनि रहेका छन्।

हरिसिंह देव पहाडतिर उक्लेपछि वहाँकी पत्नी देवल देवीले आफ्ना छोरा जगतसिंह देवलाई भक्तपुरका मल्ल राजा रुद्र मल्लकी विधवा छोरी संग विवाह गरिदिइन। जगतसिंह देवकी छोरीको विवाह तीरहूतका जयस्थिति मल्ल संग भयो, तत्पश्चात उनीहरू भक्तिपुरका शाषक बन्न पुगे।

सिमरौनगढ़को किलाबन्दी  – एउटा भूलभुलैया  

सिमरौनगढ़मा एउटा भूलभुलैया प्रकारको किला बारे भक्तपुर दरबारमा रहेको एउटा ढुंगामा खोपिएको छ, र भक्तपुरका मल्ल्हरू द्वारा जारी विभिन्न सिक्काहरूमा सो संरचनाको छाप लगाइन्थ्यो।

इटालियन पादरी क्यासियानो (१७०८-१७९१) आफ्नो नेपाल र तिब्बत भ्रमणका बेला सिमरौनगढ़ भ्रमण गरेका थिए। वहाँले सिमरौनगढ़को भूलभुलैयाकार संरचनालाई उच्चकोटिको परिष्क़ृत संरचनाको रूपमा वर्णन गरेका छन् र त्यसको रेखाचित्र स्केच पनि गरेका हुन् जुन संलग्न छ (चित्र १)।

20180518_065013.jpg
simroungarh in tirhuta.png
bottom of page